लगातार तीन दिन देखि परिरहेको
बेमौसमी पानीले ओछ्यान भित्र बस्दा पनि चिसो भई रहेको थियो। अरू दिन पनि ढिलो उठ्ने मान्छे म झन आज भोलि त कलेज पनि थिएन किन छिटो उठ्नु भनेर सुतिरहेँ। एकछिन सुत्न खोज्दै थिए आदित्यको फोन आयो। अल्छि मानी मानी फोन उठाउँदै भने, "हेलो..!! के भयो भन त।"
उसले "छिटो हातमुख धोएर तयार हो आज कलेजमा इन्ट्रान्स् दिन जाँदैनस" भन्दै फोन राख्यो।
म हतार हतार फ्रेस भई कलेज जान रेडी भएर चोक तिर गएँ। चोक पुगेर यता उता नजर डुलाउन थालेँ अचानक मेरो नजर अति नै राम्री केटी माथि मेरो पर्यो। लामो कपाल, मृगका जस्ता नयन अगाडी कालो फ्रेम भएको
चस्मा, पुर्णिमाको चन्द्रमा जस्तो मुहार थियो उसको।
त्यत्तिकैमा आदित्य आइपुग्यो। उसको बाईकको हर्नले जाउँ भन्ने ईसारा गर्दै मेरो ध्यान भङ्ग बनायो। तर मलाई जानै मन थिएन। अझै पनि उसैलाई हेरिरहन मन लाग्यो। तर अफसोस उ त्यहाँबाट कतै बिलाईसकेकी थिई। मन खिन्न बनाउदै आदित्य र म कलेज तिर लाग्यौँ।
कलेज पुग्दा बिहानको ठिक ९:३० बजेको थियो। ईन्ट्रान्सको
समय थियो १०:०० बजे। के गर्ने त आधा घण्टा? केही समय कलेज वरिपरि भौतारि रहेका
विद्ध्यार्थीका विभिन्न झुण्ड चिर्दै छेवैमा रहेको ठूलो शिरिषको रूख मुनी बस्यौँ।
ईन्ट्रान्स सुरु भयो। क्लासमा पुगेर आफ्नो ठाउँमा बसेको मात्र के थिएँ मनमा ठुलो भुईँचालो गयो। कस्तो किसमले गयो भन्दा-
जसलाई मैले विहान चोकमा देखेको थिए उसैलाई मेरो साईडमा रहेको बेन्चमा बस्न आएको देखेँ। मेरो मन भित्र भित्रै खुसी भयो।
टि.यू को एग्जाम न हो, टाईट नहुने कुरै थिएन।
टाईट हुँदा हुँदै पनि उसको एडमिड कार्ड हेर्ने सहास जुटाएँ। अपेक्षा केसि। मन-मनै दोह्रोर्याएँ
उसको नाऊँ। कति मिठो लाग्यो। यस्तो एग्जाम जिन्दगी भरी चलिरहोस् भन्ने सोच्दा
सोच्दै समय सकिएको पत्तै भएन।
घर आएर पनि केही कामै गर्न मन लागेन। ज्यान यहाँ भए पनि मन उतै छोडेर आए जस्तो लाग्यो। के गरौँ कसो गरौँ भयो मनमा। यत्तिकैमा खाटमा लडिरहेको नोकिया २७०० मोडलको मोबाईल तानेर गीत बजाउन खोजे...अँह भने जस्तो कुनै गीत नै भेटिन र ईयर फोन ठोसेर रेडियो अन गरे। "...तिमी जस्तो छैन कोही सुन्दरताको धनी...!!" बजिरहेको थियो। अब त के चाहियो र बाँकी ३ मिनेट मन्त्रमुघ्द भएर उसैलाई सम्झेर चुर्लुम्मै भएछु।
केही छिन पछि झट्ट याद आयो... अरे यार आजको डिजिटल युगमा नि के
टोलाईरहेको, फेसबुक छ त.. सर्च बक्समा उनको नाँउ हालेर सर्च गरेँ, मान्छे त भेटेँ तर...तर अफसोस फ्रेन्ड रिक्वेष्ट पठाउन नमिल्ने बनाएकी रहिछे उसले। म्यासेज गर्ने आँट आएन।
चार दिन पछि रिजल्ट आएको हल्ला सुनियो। केही
ढिलो नगरी ल्यापटपमा टि.यू को वेवसाईट लग ईन गरेँ। विश्वले टेक्नोलोजीमा दिन
प्रतिदिन फड्को मारिरहेको बेला हाम्रो देश ईन्टरनेटको क्षेत्रमा यति पछाडि छ भन्दा
एकदमै दु:ख लाग्यो। करिब दुई मिनट पछि वेवसाईट खुल्यो। हतार हतार पास लिस्ट
डाउनलोड गरेँ। लिस्टमा पनि आफ्नो भन्दा उसकै नाऊँ र नम्बर हेर्न पुगेछु। अन्तत् हाम्रो
रिजल्ट राम्रै भएको थियो। हाम्रो अर्थात अपेक्षा, आदित्य र मेरो।
क्लास भने मङ्सिर ३ गते बाट सुरू हुने सूचना आएको रहेछ। मोबाईल निकालेर क्यालेण्डर हरेँ।
पूरै एक हप्ता बाँकी थियो। त्यो एक हप्ता मेरो जिन्दगीको सबै भन्दा लामो हप्ता बनेर रहिरह्यो ।
सोमबार...कलेजको पहिलो दिन।
सबै जना विद्ध्यार्थीहरू आ-आफ्नै ग्रुप बनाएर आरियनटेसन प्रोग्रामको लागि
सिँगारिएको स्टेज अगाडी देखिन्थे। तर मेरो मन भने अपेक्षालाई खोजिरहेको थियो। पछि
यस्तो लाग्यो कि प्रोग्रामलाई पुरै ईग्नोर गर्ने म मात्र त होईन। यत्तिकैमा
प्रोग्राम पनि सकियो र सबै विद्ध्यार्थीको हुल आ-आफ्नो क्लास तर्फ लागे। हामी भने
वाशरुम।
क्लासमा पुग्न साथ नजरले अपेक्षा
केन्द्रित गर्दै लास्ट सिटमा बस्यौँ। कोही सँग नबोलि झ्याल बाहिर हेरेर बसेको
देख्दा लाग्यो कसैलाई चिनेकी छैन उसले। नजिकै गएर बोल्न त मन थियो तर आँट थिएन।
सायद अरु कोही भएको बोल्न सक्थेँ कि! मन पराएको मान्छे भएकाले अलि नर्भस भएको थिएँ
म। बस एकोहोरो भएर उसैलाई हेरिरहेको थिएँ।
त्यो रुप...ति नयन...खै कसरी वर्णन
गरौँ म उसको। त्यसै त्यसै फिदा भएको थिएँ म। एकोहोरो नि धेरै हेरिएछ क्यार, घोसे
मुन्टो लगाएर मुस्कुराई मात्र। मलाई भने अप्ठ्यारो लाग्यो र ध्यान अन्तै मोड्न
बाध्य भएँ। पहिलो दिन भएकाले होला त्यत्ति पढाई नभए पनि परिचय साटासाट भने राम्ररी नै भयो।
लगातार कलेज लाग्न थाल्यो। तर प्रगति केही भएको थिएन। भएको थियो त केबल उसलाई दिलमा सजाउने काम। प्रतिक्षाको फल मिठो हुन्छ भनेको सुन्या थिएँ। त्यसैले पनि मैले ऊ सँग बोल्न हतार गरिन। हरेक दिन कलेज जाने क्रम चलि रहयो।
एकदिन कलेज बाट घर फर्किदा उसलाई म चढेको गाडिमा देखेँ। म बसेको ठाउँ छेउको अर्को सिट खालि थियो।
उसले सोधि "सिट खालि हो? यहाँ बस्दा हुन्छ?"
मैले हुन्छ भनेँ।
ऊ "थ्याङ्स" भन्दै त्यहीँ बसि।
गाडि आफ्नै रफ्तारमा अघि बढीरहेथ्यो। तर गाडि भन्दा सयौँ गुणा छिटो बढीरहेको थियो मुटुको धड्कन। मन पराएको मान्छे आफ्नो नजिक हुदाँ कसलाई डर हुन्न र..बोल्न त मन थियो तर के बोल्नु कसरी बोल्नु भईरह्यो। मैले बोल्न खोज्दा अचानक उसले नै सोधि "तपाईँ त हाम्रै कलेज पढ्नु हुन्छ होइन र?"
-हो त...तिम्रै कलेज तिम्रै क्लास।"
उसले हलुका मुस्कुराउँदै भनि "म अपेक्षा...अपेक्षा केसि।"
"म अनुराग , तिम्रो नाउँ त पहिल्यै थाहा थियो" खै कता बाट त्यो नि भन्न पुगेछु।
उसले निधार खुम्च्याउँदै भनी "कसरी??"
"ईन्ट्रान्समा सँगै परेका थियौँ। एडमिड कार्ड चिहाएर हेरेको थिएँ तिम्रो नाउँ।"
त्यत्तिकै मा हामी ओर्लने ठाउँ पनि आइपुग्यो। "म यहिँ सम्म हो" भन्दै तल झरि ऊ गाडिबाट। म पनि ओर्लदैँ भने "मेरो पनि त यहीँ हो ओर्लने ठाउँ।" ऊ मन्द मुस्कान छोडदै "बाई" भनेर आफ्नो बाटो लागी।
म पनि सरासर कोठा तिर लागे। मनमा उनको मिठो मुस्कान सम्झिँदै। मनमा केवल उसलाई सजाउँदै।
आफूले जे सोच्यो त्यो पाउँदा हरेक मानिस खुसी नै हुन्छ। त्यो उसको स्वभाव नै हो।
भोलि पल्ट बिहानै फेसबुक खोलेँ। एउटा फ्रेन्ड रिक्वेट आएको रहेछ अपेक्षाको। मैले त उसलाई मन पराएको थिएँ र उनी प्रति चासो गर्थेँ तर उसले म प्रति ध्यान दिएको जस्तो लागेको थिएन। हतार हतार एसेप्ट गरे। एक छिन मै च्याट मा हरियो बत्ति बल्यो । मेसेज उसैको थियो।
लेखिएको थियो "गुड मर्निङ..!! के छ?"
मैले भने "गुड मर्निङ। ठिकै छ। तिम्रो नि?"
"मेरो पनि ठिक छ। कलेज जान टाईम मै निस्किनु..म हिजोको ठाऊँमा कुरिरहन्छु।" यो उनको रिप्लाई थियो।
मैले भने "हस तर अब देखि तिमी भन तपाईँ होईन।"
रिप्लाई आयो "ओके साथमा स्माईली।"
त्यस पछि दैनिक कलेज आउने जाने देखि अरू समयमा पनि हामी सँग सँगै हुन्थ्यौँ। म त उसलाई मन पराउथेँ तर उसको मनमा के कुरा थियो त्यो भने जान्न बाँकी नै थियो। उनी संग बिताएका पलहरू एकदम प्यारो लाग्थ्यो। तर खै उनी सँगको मित्रता तोडिने डरले मैले आफ्नो
मनको कुराहरू मनमै राखेँ गुम्स्याएर।
समय न हो आफ्नै रफ्तार ले चल्दै थियो। अनि हामी समय सँगै। प्रत्येक दिन कलेजमा हामीलाई सँगै देखेकाले कसैले राम्रो त कसैले नराम्रो कुरा काट्न थालेका थिए। म त केटा मान्छे त्यस्तो गाह्रो थिएन
तर उसलाई यस्तो कुराले डिस्टब गर्न सक्थ्यो।
एक दिन आदित्य र म क्यानटिनमा बसेका बेला हाम्रै क्लासका दुई तीन जना केटाहरू हामी भएको ठाउँमा आए।
तिनीहरू मध्ये को एउटाले भन्यो "ओइ केटा के हो आज भोलि अपेक्षा सँग निकै उठबस चलिराछ नि।"
मैले भने "त्यस्तो होइन यार ऊ त साथी मात्र हो।"
त्यसले फेरी भन्यो "के हो एक्लै मोज गर्ने बिचार छ। हाम्रो चान्स आउदैन।"
उसको कुरा सुनेर मलाई एक दम रिस उठयो। रिसको झोकमा हात हाल्न पुगेछु। आदित्यले छुट्टाएर लग्यो मलाई त्यहाँबाट। टाउको मा सानो चोट लागेछ। खै कसले हो कुन्नि अपेक्षालाई पनि यो कुरा सुनाइ दिएछ उसकै कारणले झगडा भएको भनेर।
उसले सोधी "के भयो अनुराग? टाउकोमा के को चोट हो?"
मैले कुरा लुकाउँदै भने "केही होइन। हल्का चिप्लेर लडेर लागेको चोट हो।"
उसले अलि झर्किदै भनी "झुट नबोल। साँचो कुरा के हो खुरुक्क भन।"
मैले सानो बच्चाले जस्तै गरि उसलाई सारा कुरा सुनाउदैँ भने "कसैले तिमीलाई नराम्रो भनेको सुन्न सक्दिन म अपेक्षा। "मैले यति भनि नसक्दै उसले मलाई आफ्नो न्यानो अंगालोमा कसी। त्यो क्षण। क्या अविस्मरणिय थियो। उनको अंगालोमा बाँधिन पाउँदा त्यो टाउको लागेको चोटको पिडा पनि कता भाग्यो कता।
कुनै राम्रो फुल देखे पछि त्यसलाई चुढ्न त सबैले खोज्छन् तर जसले त्यो फुललाई माया गरेको हुन्छ उसले त्यसलाई राम्रो मलजल गरि फक्रिन दिन्छ। मेरो मनमा अपेक्षा प्रति टुसाएको प्रेममा कोपिला लाग्न थालिसकेको थियो। तर त्यो प्रेम मैले उसलाई व्यक्त गर्न सकिरहेको थिईन। तर कतिन्जेल नभन्ने। मनको कुरालाई मन मै गुम्साएर राख्नु पनि राम्रो थिएन। आखिर एक न एक दिन त उसलाई अवश्य थाहा हुन्छ यो कुरा। ऊ संग नियमित हुने भेट, घण्टौ हुने कुराकानी...ऊ प्रति देखाएको चासो बाट पनि उसलाई म मनपराउँछु भन्ने कुराको अड्कल लगाइसकेकी हुनु पर्थ्यो उसले। सायद ऊ पनि मलाई माया गर्थी। त्यसैले त मेरो हरेक क्रिया कलापमा उनी चासो राख्थिन्।
एक पटक म बिरामी भएर दुई दिन देखि कलेज गएको थिईन। अर्को दिन आदित्यले अपेक्षालाई म बिरामी भएको कुरा सुनाई दिएछ। ऊ बेलुकी पख मलाई हेर्न मेरै कोठा आएकी थिई। म पुर्ण रुपले निको नहुन्जेल ऊ मलाई हेर्न आईरही। त्यस बाट पनि म केही बिस्वस्त थिएँ कि उसले मेरो प्रेम स्विकार्नेछे।
बर्षको अन्तिम तिर कलेजमा फेयरवेल प्रोग्राम हुने भयो। मैले उसलाई प्रेम प्रस्ताव राख्ने मौका यहिँ ठानेँ। तर मनको कुनामा डर नहुने कुरै भएन कतै उसले मलाई एसेप्ट गरिन भने के गर्ने..!! जति धेरै सोच्यो त्यत्ति नै त्रास उत्पन्न हुदो रहेछ मनमा। फेयरवेलको दिन बिहानै कलेज पुगें म। यता उता डुले पछि अपेक्षालाई खोज्न थालेँ। ऊ आएकै रैनछे।
एक छिन पछि ऊ आई दुई-तीन जना साथीसँग। उसलाई मैले बोलाएर एउटा खालि कोठामा लगेर भने "अपेक्षा तिमी रिसाउदिनौ भने एउटा कुरा भन्छु है?"
उसले भनि "भन न। तिमी संग पनि म रिसाउछु होला र!!"
मैले भने "म तिमीलाई प्रेम गर्छु अपेक्षा। जिवनका हरेक सुख-दुख तिमी सँगै बाँड्न चाहान्छु। मेरो खुसी तिमीलाई दिन र तिम्रो म लिन चाहन्छु। हो अपेक्षा आई लव यू...!!" मैले डराउदै भनेँ। मुटुको धड्कन तेज भयो।
उसले मुस्कुराउदै भनिन् "उफ यो कुरा पनि भन्नु पर्छ र। मेरो केयर गर्छौ। मेरो लागि झगडा गर्छौ। यस्तो सब हुदाँ पनि तिमीले मलाई माया गर्छौ भन्ने थाहा नपाउने म तिमी जस्तै उल्लु हो र।"
मैले उसले भनेको घुमौरो कुरा बुझिन त्यसैले फेरि सोधे "त्यस्को मतलब तिमी पनि मलाई....."
उसले हाँस्दै भनिन् "हो त लम्फु। आइ लब यू टू।"
यति भनेर त मुस्कुराउँदै आफ्ना साथी भए तिर गई। यता म भने के गरौँ, कसो गरौँ भएको थिएँ। कसम कोठामा एक्लै भएको भए उर्फिदै नाच्थेँ होला। सारा संसार जिते जस्तो लाग्यो। अनि मनमा एउटै गित गुन्जिरहयो "...बसमा छैन यो मन बसमा छैन यो मन..."
जब मान्छे धेरै खुसि हुन्छ तब त्यो खुसि व्यक्त गर्ने शब्द पनि पाइँदैन रहेछ। ठिक त्यस्तै भएको थियो मलाई। हाम्रो भेटघाट र कुराकानि पहिले भन्दा धेरै बाक्लिएको थियो। सँधै जसो हामी घण्टौ बिजि हुन्थ्यौँ फोनमा अनि च्याटमा। सानो सानो गल्तीमा पनि ऊ रिसाए जस्तो गर्थी। अनि म झन उसलाई सताउँदै भन्थे "तिमी त सानो सानो कुरामा पनि रिसाउँछौ। तिमीलाई मेरो माया नै लाग्दैन।"
ऊ: "त्यही त माया नलाग्ने भए तिमी सँग बोल्थेँ होला नि।"
म: "अनि किन रिसाएको त.."
ऊ: "म चाँही हाम्रो सपनाको संसार सजाउने कुरा गर्छु। तिमी चाँही जोक मात्रै गर्छौ।"
म: "तिमीले सोच्नै पर्दैन। मैले सोचिसके।"
ऊ: "भन न त के के सोच्यौ?"
म: "तिमी र म अनि हाम्रो सानो घर।"
ऊ: "अनि...?"
म: "अनि तिम्रो मेरो माया र ख्याल ठट्टा।"
ऊ: "अनि..।"
म: "अनि हाम्रा छोरा छोरी।"
ऊ: "पागल।"
म: "तिम्रै मायाले त बनाएको हो नि।"
ऊ मलाई हाँस्दै अंगाल्थि। रिस पनि माया मा फेरिएको पत्तै हुदैन थियो।
वैशाख महिना..
मेरो जन्म दिन थियो। बेलुका कोठामा सानो पार्टी दिने भनेर अपेक्षा, आदित्य र अरू दुई चार जना मिल्ने साथीहरुलाई बोलाएँ। सबै आए। सबै जना मिलेर राम्ररी सेलिब्रेट गर्यौँ। एक छिन पछि सबै छुट्टिने भन्दै घर जान तयार हुन थाले।
मैले अपेक्षालाई भने "आज यतै बस न..हुन्न र?"
उसले भनी "पहिला बेहुलि बनाउ अनि बसौँला नि।"
एक छिन सबै जना हाँस्यौ। अपेक्षालाई घर सम्म पुर्याउन आदित्यलाई अर्हाए। उनीहरु गए पछि म पनि थाकेकाले होला सुतेको भुसुकै निदाएछु।
भोलि पल्ट सँधै जसो उठेर कलेजको लागि रेडी भएँ र अपेक्षालाई फोन गरेँ। तर फोन अफ भएको टेलिकम की दिदीबाट थाहा पाएँ। लोडसेडिङले गर्दा चार्ज भएन होला भनेर म कलेजको लागि निस्किएँ।
राति पानी परेकाले बाटो हिलो थियो। कलेज पुग्ना साथ अपेक्षा लाई खोज्न थालेँ तर भेटिन। तर त्यस दिन कलेजमा अरू बेलाको भन्दा भिन्नै माहोल थियो। विभिन्न झुण्डमा छरिएका विद्ध्यार्थीहरू निकै कल्याङ-कुलुङ गरिरहेका थिए। कोही
पनि बुझिने गरी बोलेको पाईन मैले।
एकछिन पछि कसैले "...हिजो राति घर फर्कँदा आदित्य र अपेक्षाको बाईक बाटोमा चिप्लेर उनीहरुको घटना स्थल मै..." भनेको कता बाट मेरो कानमा पर्यो। यो कुरा सुन्ना साथ वैशाखको टन्नलापूर घामको उज्यालो पनि मेरो अगाडी औँशीको रात झैँ निस्पस्ट अँध्यारो भयो। म माथि आकाश खसेझैँ भयो। बेहोस भएछु म। होस आउँदा अस्पतालमा थिएँ। नजिकै बस्ने साथीलाई सोधेँ के यो सत्य हो?
उसले मुहार उदास बनाउँदै हो को सङ्केत गर्दै मुन्टो हल्लायो। त्यो सुन्न साथ बेस्सरि मन दुख्न थाल्यो। धेरै पिडा भए पछि रुन पनि नसकिँदो रहेछ। मन मनै रोएँ। नियतिलाई दोष दिँदै रोएँ। भर्खर कोपिला लागेको मेरो प्रेमको फुल फक्रिन नपाई चुढ्यो। एकै चोटी म बाट आफूलाई भन्दा माया गर्ने प्रेमिका र मेरा लागि ज्यान दिने साथी दुवै खोस्यो दैवले। त्यसैले त रोइरहेँ र आज पनि रोइरहेछु। कहिले काहीँ त लाग्छ अपेक्षा कतै टाढा धुम्न गएकी छे। मलाई लान नमिल्ने ठाउँमा। मनमा एउटा आशा बोकेर बाँचिरहेछु एक दिन ऊ फर्केर आउने छे अनि मलाई फेरि अँगाल्ने छे।
-Joras Dahal